
असोज,काठमाडौं २६: शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले गुटबन्दी र खुट्टा तानातान गरेर राष्ट्रिय हितका लागि फाइदा नभएर झनै धेरै नोक्सान हुने बताउनु भएको छ ।
आइतबार सामाजिक सञ्जाल ‘फेसबुक’ मा आफ्नो धारणा प्रस्तुत गर्दै अहिलेको परिवेशमा देश विकास र सार्वभौम सत्ताको रक्षाको लागि गुटबन्दी नगर्न अनुरोध गर्नुभएको छ ।
गुटबन्दी र खुट्टा तानातान गरियो भने भने कसलाई फाइदा हुन्छ भन्ने कुरा इतिहासबाट पनि सिक्न सकिने भन्दै मन्त्री पुनले गुटबन्दी नगर्न जेन–जी सहितका राष्ट्रलाई माया गर्ने नेपालीहरूमा अनुरोध गर्नुभएको हो ।
विसं २०४६ साल देखि २०८२ सालको अचानक विस्फोटन भएको जेन–जी आन्दोलन सुरु भएको दिन सम्मको इतिहास निष्पक्ष भएर विश्लेषण गर्न अनुरोध गर्दै उहाँले राजनीतिक पार्टीहरूबिच चरम आन्तरिक गुटबन्दी र खुट्टा तानातान भएको बताउनुभएको छ ।
त्यसैको परिणाम स्वरूप जेन–जीहरू र आम जनताहरू मिलेर विस्फोटन स्वरूप आन्दोलन गरेको भन्दै मन्त्री पुनले आन्दोलन जेन–जीहरूले सुरुवात गरेको भएता पनि आम जनताले सहयोग गरेका उल्लेख गर्नुभयो ।
चरम भ्रष्टाचार र राजनैतिक गुटबन्दीले गर्दा देश बरबाद भएको देख्न नसकेर जनता चरम आक्रोशित भएकाले यो अवस्था आएको उहाँको भनाइ छ।