
जेष्ठ ११ काठमाडौं : भीर मह निकालेको दृश्य छायांकन गर्न नेशनल जियोग्राफीको टोली स्पेन र जर्मनीका नागरिक सहित गरी १६ जना विदेशी पर्यटक म्याग्दीको धवलागिरि गाउँपालिका–२ लुलाङको खबाङ भीर पुगेका छन् । देख्दा आङ नै सिरिंग हुने अक्करे पहरामा भीर मह निकालिरहेको दृश्यको छायांकनसँगै नेपालीको सौर्य प्रचारप्रसार गर्ने उद्देश्यका साथ विदेशीको टोली आएको धवलागिरि गाउँपालिका–२ का वडाध्यक्ष अकप्रसाद विकले जानकारी दिनु भयो ।
टोलीले डोरी (पर्याङ) मा झुन्डिएर भीर मौरीको मह निकाल्ने मह सिकारीको अनुभवसँगै स्थानीयवासी र गाउँपालिकाको टोलीसँग छलफल गरेको वडाध्यक्ष विकले बताउनु भयो। लुलाङका स्थानीयवासी थमबहादुर सिर्पालीको समन्वयमा आएका विदेशीले धवलागिरि गाउँपालिका उपाध्यक्ष रेशम पुनमगरसँग भीर महको संरक्षण र निकाल्ने क्रममा हुने दुर्घटनाको जोखिम न्यूनीकरणका बारेमा चासो देखाएका थिए ।
भीर मह निकाल्न भिरको माथिल्लो भाग र तल्लो भागमा २ समूहमा सिकारी बाँडिएका हुन्छन् । एक समूहले भीरको माथिबाट तल भुइँसम्म डोरी झुन्ड्याउँछन् भने भीरको तलपट्टि रहेको अर्को समूहले मह थाप्ने र गर्छन् । ठूलो भीरमा मेहनत धेरै लाग्ने भएकाले एउटा भीरमा दिनभरि खर्चिनुपर्छ ।
