जेष्ठ १५ काठमाडौं : महिनावारी भएका बेला महिला ट्राफिक प्रहरीलाई सडकमा नखटाउने गृहमन्त्री रवि लामिछानेको निर्णय मङ्गलवारदेखि नै कार्यान्वयनमा आएको छ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता जीवन श्रेष्ठले महिनावारीका सुरुका चार दिन सडकमा नखटाउने निर्णय कार्यान्वयनमा आइसकेको जानकारी दिनु भयो । काठमाडौं उपत्यकामा मात्र २ सय भन्दा बढी महिला ट्राफिक प्रहरीका रूपमा कार्यरत छन्। उनीहरूलाई सडकमा नखटाइएका बेला ट्राफिक नियम उल्लंघनकर्ताहरुलाई स्वयं सेवकका रूपमा परिचालन गर्ने तयारी ट्राफिक प्रहरीको छ।
‘अब मापसेलगायत ट्राफिक नियम उल्लंघन गर्नेहरूलाई ट्राफिक नियम व्यवस्थापनमा सहयोगीका रूपमा परिचालन गरिने छ ।
काठमाडौं उपत्यकामा दैनिक ३ हजारभन्दा बढी सवारी चालकलाई ट्राफिक नियम उल्लङ्घनमा कारबाही हुने गरेको छ। त्यसरी कारबाहीमा पर्ने सवारी चालकलाई जरिवाना हुने गरेको छ। कतिपय उल्लङ्घनका कारबाहीमा ट्राफिक कक्षा लिनुपर्ने नियम पनि छ।
गृहमन्त्री लामिछानेले मङ्गलवार बिहान सामाजिक सञ्जालमार्फत गणतन्त्र दिवसमा सानो प्रयास भन्दै महिनावारीका सुरुका चार दिन महिला ट्राफिक प्रहरीलाई सडकमा नउतार्ने घोषणा गर्नु भएको थियो ।
