माघ २६,काठमाडौं :प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले परम्परागत बजेट प्रणाली देशको रुपान्तरणमा बाधक रहेको भन्दै राष्ट्रिय बजेट प्रणालीमा आमूल परिवर्तन आवश्यक रहेको बताउनु भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा विकास तथा योजनासँग सम्बन्धित विज्ञहरूसँग आयोजित छलफल कार्यक्रममा प्रधानमन्त्रीले बजेट प्रणालीमा आमूल परिर्वतन गर्नुपर्ने बताउनु भएको हो ।
हरेक वर्ष पुरानै वर्षको फोटोकपीका रुपमा नयाँ बजेट आउने परिपाटी रहेको बताउँदै प्रधानमन्त्री दाहालले यसपटक सार्वजनिक बहसको केन्द्रीकृत स्वरुपका रुपमा बजेट निर्माण गर्ने प्रक्रिया थालनी गरेको जानकारी दिनु भयो ।
प्रधानमन्त्री दाहालले सरकारको नीति तथा कार्यक्रम र बजेट निर्माणका लागि सबै क्षेत्रसँग बहस, छलफल गर्ने र सुझावहरुलाई केन्द्रीकृत गरेर प्राथमिकताका आधारमा बजेट निर्माण गर्नेमा जोड दिनु भएको छ ।
देशमा आर्थिक संकट र गणतान्त्रिक व्यवस्थामाथि नै प्रश्न उठाउने कोसिस भइरहेको परिस्थितिमा सरकारको नेतृत्व लिएको बताउँदै प्रधानमन्त्री दाहालले संकटको निकास गर्ने जिम्मेवारी आफूमा रहेको जिकिर गर्नु भयो ।
प्रदेश र स्थानीय तहलाई बलियो नबनाइकन व्यवस्था बलियो बनाउन नसकिने प्रधानमन्त्रीको दावी छ ।
