
असार ६ काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहालले ७७ करोड २४ लाख ४६ हजार ४५८ रुपैयाँ बचत रकम सहकारी पीडितलाई सरकारले फिर्ता भुक्तानी गरिसकिएको बताउनुभएको छ । बिहीवार प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोउत्तर कार्यक्रममा नेपाली काँग्रेसका सांसद जीवन परियारले गरेको प्रश्नको जवाफमा प्रधानमन्त्रीले यस्तो बताउनुभएको हो । उहाँले सहकारी संस्थाका वचतकर्ताहरुबाट ५९ हजार ५ सय ८७ माग दाबी निवेदनका आधारमा ३६ अर्ब २८ करोड ९२ लाख ८१ हजार ७८० को दायित्व एकिन गरी यसमध्ये हालसम्म ७७ करोड २४ लाख ४६ हजार ४५८ रुपैयाँ बचत रकम सहकारी पीडितलाई फिर्ता भुक्तानी गरिसकिएको दाबी गर्नुभएको हो ।
उहाँले सरकारले २० सहकारीलाई समस्याग्रस्त घोषणा गरी समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमार्फत वचत फिर्ताको प्रक्रिया अगाडि बढाएको बताउनु भयो । उहाँले तीन समस्याग्रस्त सहकारीको सम्पति व्यवस्थापन तथा दायित्व भुक्तानी गरी वचत भुक्तानी गर्ने कार्य सम्पन्न भएको बताउनु भयो ।
नेपाल राष्ट्र बैंक समेतको संलग्नतामा सहकारी बैंक लगायत ठूला कारोबार गर्ने ९ संस्थाको अनुगमन कार्यसम्पन्न भइ वित्तीय अवस्था मजबुत पारी सुशासन र प्रभावकारी सञ्चालनको लागि निर्देशन दिएको बताउनु भयो ।
छुट्टै नियामक निकाय स्थापना गर्ने,सहकारी कर्जा सुरक्षण कोष स्थापना गर्ने छुट्टै कानूनी प्रक्रिया अगाडि बढाईको उहाँले उल्लेख गर्नुभयो । उहाँले प्रदेश तथा स्थानीय सरकारहरुसँग सहकारी समस्या समाधानको लागि विषयगत समिति गठन गरिएको बताउनु भयो ।
ठूलो कारोबार गर्ने सहकारीहरुलाई नियमन र सुपरीवेक्षण गर्न प्राधिकरण गठनका लागि कानूनको मस्यौदा भइरहेको उल्लेख गर्नुभयो । उहाँले सहकारी नीतिको परिमार्जित मस्यौदा तयार भएको छ भने सहकारी ऐनमा समेत संशोधनको तयारी गरेको बताउनु भयो ।
