
असार २८,काठमाडौं :कास्कीका विभिन्न स्थानमा गएरातिको पहिरोमा परी मृत्यु हुनेको संख्या ११ पुगेको छ । पोखरा महानगरपालिकामा १० र मादी गाउँपालिकामा एकजनाको पहिरोमा मृत्यु भएको हो ।पोखरा–१९ पुरुनचौर तल्लाकोटका कुलबहादुर परियारको घर पहिरोमा पुरिँदा सातजनाको मृत्यु भएको हो । पोखरा–३२ चैनपुरस्थित बाह्रबिसेमा पहिरोको कारण तीनजनाको घटनास्थलमै मृत्यु भएको छ ।
मादी गाउँपालिका–११ ताप्लेमा गएराति पहिरोमा परी बेपत्ता भएकी ८० वर्षीया माइतीकुमारी गुरुङको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक बसन्तकुमार शर्माले जानकारी दिनु भयो । मृतकको शव परीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको जनाइएको छ ।
