असोज, काठमाडौं १० : आज दशैंको पाँचौ दिन स्कन्दमाता भगवतीको पूजा गरेर मनाइँदैछ । दुर्गा भवानीको नौ रूपमध्ये पाँचौ रूप स्कन्दमाता भगवतीको पूजा गर्ने चलन छ ।
नवरात्रका नौ दिनमा पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा र पाँचौ दिन स्कन्दमाताको पूजा गर्ने परम्परा रहेको छ ।
त्यस्तै, छैटौ दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्रीको पूजा गर्ने धार्मिक मान्यता रहिआएको छ ।
नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमद्देवीभागवत र अन्य देवी स्तोत्र एवम स्तुतिको पाठ गरिन्छ । आज देशभरका विभिन्न शक्तिपीठहरुमा पूजाका लागि भक्तजनहरुको घुइँचो लाग्ने गरेको छ ।
काठमाण्डौ उपत्यकाका गुहेश्वरी, मैतिदेवी, दक्षिणकाली, कालिकास्थान, शोभाभगवती, विजेश्वरी, नक्साल भगवती, भद्रकाली र इन्द्रयणीसहितका देवी दुर्गाका शक्तिपीठहरूमा आज बिहानैदेखि दर्शनार्थीहरूको भीड लागेको छ ।
