बैशाख,काठमाडौं १५ : नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय कार्य संयोजन समितिको बैठकबाट समसामयिक प्रस्ताव पारित गरेको छ। आज सकिएको बैठकले १९ बुँदे प्रस्ताव पारित गरेको प्रवक्ता प्रकाश ज्वालाले जानकारी दिनुभएको हो ।
नेकपाले भदौ २३ र २४ गतेको घटनाको छानबिन गर्न गठित कार्की आयोगको प्रतिवेदन असन्तुलित र आग्रहयुक्त देखिएको निष्कर्ष निकालेको छ। प्रतिवेदनमा भदौ २४ गतेको विध्वंसकारी घटनाको बारेमा पूर्ण छानबिन भएको नदेखिएको भन्दै सो घटनाको समेत निष्पक्ष छानबिनको माग गर्दै दोषीहरूलाई बिना पूर्वाग्रह कारवाहीको माग गरेको छ।
सरकारले वास्तविक सुकुम्वासीको पहिचान र आवासको वैकल्पिक व्यवस्था बिना नै देशका विभिन्न स्थानबाट सुकुम्वासी बस्ती तीव्र रूपमा उठाउँदा हजारौँ अशक्त, बालबालिका, वृद्ध, असहाय र विपन्न सुकुम्वासी जनतामा आतंक सिर्जना भएको निष्कर्ष नेकपाले निकालेको छ।
सुकुम्वासी जनता जीविकाको सङ्कट, स्वास्थ्य जोखिम र विपद्मा परेका नेकपाले भनेको छ,। सरकारले सुशासनको नाममा राजनीतिक दलका नेता, राष्ट्रसेवक कर्मचारी र उद्योगी व्यवसायीहरूमाथि धरपकड र कारबाही गर्दा अपरिपक्व र पूर्वाग्रहयुक्त भएको भन्दै कारबाही कानुनसम्मत, निष्पक्ष, पारदर्शी र जवाफदेही बनाउन माग गरेको छ।
