असार,काठमाडौं ९ :राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीभित्र समूहवाद, गुटबन्दी र व्यक्तिवाद जस्ता प्रवृत्तिगत समस्याहरू बढ्दै गएको भन्दै चिन्ता जनाउनु भएको छ ।
चितवन महाधिवेशनमा पेश गरेको राजनीतिक प्रतिवेदनमा लामिछानेले पार्टी अझै पनि राजनीतिक अभियानबाट संस्थागत दल बन्ने ‘संक्रमणकाल’ मै रहेको उल्लेख गर्नुभएको छ ।
लामिछानेले जनमतबाट प्राप्त शानदार संसदीय आकारलाई मात्रै सफलता मान्न नसकिने बताउनुभएको छ । ‘दीर्घकालीन राजनीतिक शक्तिको आधार लोकप्रियता मात्र हुन सक्दैन, यसका लागि वैचारिक स्पष्टता र विधिमा आधारित नेतृत्व आवश्यक छ,’उहाँले प्रतिवेदनमा उल्लेख गर्नुभएको छ । पार्टी अझै पनि संस्थागत स्वरूप ग्रहण गर्ने प्रक्रियामा रहेको लामिछानेको स्वीकारोक्ति छ ।
पार्टीभित्र निजी फाइदाका लागि ‘नयाँ र पुरानो’ का नाममा खेल्ने प्रवृत्ति देखिएको रविले प्रतिवेदनमा लेख्नु भएको छ । मुहान जे भए पनि सबै एउटै नदीका हिस्सा हौँ भन्ने भावनामा कमी आएको र व्यक्तिगत प्रभाव विस्तार गर्ने सोचले संगठनात्मक एकतालाई चुनौती दिएको उनको ठहर छ ।
स्थापनादेखि नै लागेका कतिपय नेताले विशेष अधिकार खोज्ने र आफूलाई चुनौती हुन सक्ने डरले बाहिरबाट आउने राम्रा र योग्य व्यक्तिलाई पार्टीमा छिर्न नदिने प्रवृत्ति देखिएको भन्दै उहाँले यस्तो समूहगत संरक्षणवादले योग्य तथा प्रतिबद्ध सदस्यहरूलाई निरुत्साहित बनाएको बताउनु भएकोे छ ।
