फागुन १६,काठमाडौं : अन्तिम दिन बुधबार साँझ ५ बजेसम्म सर्वोत्तम सिमेन्टको प्राथमिक सेयर (आईपीओ) १० लाख १२ हजार ३८४ जनाले भरेका छन् । सीडीएस एण्ड क्लियरिङ कम्पनीका अनुसार कम्पनीको आईपीओमा १९.३ गुणा बढी आवेदन परेको हो ।
कम्पनीले कुल २७ लाख ७६ हजार ७६ कित्ताका लागि मात्रै आवेदन खुलाएको थियो । तर आवेदकले कुल ५ करोड ३६ लाख ३३ हजार ९९० कित्ता माग गरेका छन् । कुल १९ अर्ब ३५ करोड रुपैयाँको आवेदन परेको हो । सो रकम आवेदककै बैंक खातामा ब्लक भएको छ ।
बुक बिल्डिङ विधिअनुसार मूल्य तय भई प्रतिकित्ता ३६० रुपैयाँ ९० पैसाका दरले कम्पनीले सर्वसाधारणलाई आईपीओ खुलाएको थियो ।
बुक बिल्डिङबाट खुलेको यस आईपीओमा न्यूनतम ५० कित्ताका लागि आवेदन दिनुपर्ने व्यवस्था छ । तर कतिपय आवेदकले ५० भन्दा थोरै १० कित्ताका लागि पनि आवेदन दिएका छन् । ५० भन्दा कम आवेदन दिएकाहरुको आवेदन स्वतः रद्द हुनेछ ।
