फागुन २२,काठमाडौं: नक्कली बिल भरपाई बनाएर उपभोक्ता समितिलाई रकम भुक्तानी गरेपछि हुम्लास्थित चंखेली गाउँपालिकाका तत्कालीन अध्यक्ष धनलाल चौलागाईँसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । उनीहरुले बाटोको नाप जाँच नै नगरी नक्कली बिल बनाएर उपभोक्ता समितिलाई रकम भुक्तानी गरेका थिए ।
मेलादेखि बासलधारासम्मको बाटो निर्माण योजनामा गाउँपालिकाका तत्कालीन अध्यक्ष चौलागाईं, निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णु बहादुर शाही, इन्जिनियर रुद्र बहादुर वली, लेखापाल धर्मवीर पल्ली मगर, असिस्टेन्ट सव–इन्जिनियर अजय भन्ने अज बहादुर बुढाले योजनाको नाप जाँचै नगरी उपभोक्ता समिति खडा गरेर १० लाख २९ हजार तीन सय २५ रुपैयाँ भुक्तानी गरेको आयोगले जनाएको छ ।
उनीहरूले निर्माण योजनामा उक्त कार्यको नाप जाँच नै नगरी काम नभएको योजनाको काम भएको भनी गलत प्राविधिक मूल्याङ्कनसहित नापी किताब तयार गर्न लगाएका थिए । कामै नगरी कार्य सम्पन्न प्रतिवेदनसमेत दिई भुक्तानीको टिप्पणी र आदेशलाई सदर गरी गराई झुट्टा बिल भरपाई तथा नक्कली कागजातहरूलाई आधार मानी रकम भुक्तानी गरेको आयोगको अनुसन्धानबाट खुलेको छ ।
