चैत ७,काठमाडौं :उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सेवा प्रवाहमा तत्काल सुधार गर्न निर्देशन दिनुभएको छ ।गृह मन्त्रालयले ६ चैतमा उपसचिव र सहसचिव गरी २२ जनाको सरुवा गरेको थियो । उनीहरूले नयाँ जिम्मेवारी सम्हाल्नुअघि गृहमन्त्री लामिछानेले सेवा प्रवाहमा तत्कालै सुधार गर्न निर्देशन दिनु भएको हो ।
गृह मन्त्रालयले अध्यागमन विभागका महानिर्देशक, निर्देशक, अध्यागमन कार्यालय त्रिभुवन विमानस्थल, अध्यागमन कार्यालय गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, गृह मन्त्रालय र केही जिल्ला प्रशासन कार्यालयका अधिकारीहरूको सरुवा गरेको थियो ।
गृहमन्त्री लामिछानले नागरिकमा सरकारको व्यावहारिक अनुभूति गराउने गरी काम गर्न पनि निर्देशन दिनु भएको छ ।लामिछानेले गुण्डागर्दी, तस्करी, राजस्व चुहावट, प्राकृतिक स्रोतको दोहन नियन्त्रण, सामाजिक सद्भाव अभिवृद्धि, विपद् व्यवस्थापन, सवारी दुर्घटना न्यूनीकरणलगायत क्षेत्रमा तत्कालै सुधारका योजना बनाएर लागू गर्न पनि निर्देशन दिनु भयो ।
उहाँले मातहतका निकायलाई राजनीतिक नेतृत्वको गलत दबाब र प्रभावमा नपर्न भन्नु भएको छ । ‘कानुनको पालना गर्नुस्, कसैको आज्ञापालक होइन, सिर्जनशील प्रशासक बन्नुस्,’ लामिछानेले भन्नुभयो, ‘नागरिकबाट मानसम्मान खोज्ने होइन, उनीहरूलाई गर्नुस्।’ कहीं समस्या भए ल्याउन र सेवाग्राहीले सास्ती भोग्नु नपर्ने गरी व्यवस्थापन गर्न गृहमन्त्री लामिछानेले निर्देशनदिनु भयो ।
