सुदूरपश्चिममा एमालेको अडानपछि प्रदेशसभा बैठक अनिश्चित
बैशाख २१, काठमाडौं : नेकपा एमालेले मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई तत्काल विश्वासको मत दिन नसकिने अडानमा बसेपछि प्रदेशसभा बैठक बस्ने अनिश्चित भएको छ ।
मुख्यमन्त्री सोडारीले विश्वासको मत लिन आज साँझ ५ बजे आह्वान गरिएको बैठक अनिश्चित बनेको हो ।
विश्वासको मतको विषयमा आज प्रदेशसभाका कार्यव्यवस्था तथा परामर्श समितिको बैठक पनि बोलाइएको थियो । तर आफू ढिला पुगे पनि बैठक बस्न नसकेको सभामुख भीमबहादुर भण्डारीले बताए ।
लगत्तै मुख्यमन्त्री दीर्घबहादुर सोडारी, सभामुख भण्डारीलगायत दलका प्रमुखबिच पनि केहीबेर अघि बसेको थियो । तर विश्वासको मतमा एमालेको अडान कायमै रहेपछि बैठक नै अनिश्चित भएको हो ।
