इन्टरनेट अवरुद्ध गरे कारबाही गर्ने दूरसञ्चारको चेतावनी
बैशाख २२, काठमाडौ : नेपाल दूरसञ्चार प्राधिकरणले भरपर्दो र गुणस्तरीय सेवाको सुनिश्चिततासहित उपभोक्तालाई निर्वाध रूपमा इन्टरनेट सेवा उपलब्ध गराउन सेवा प्रदायकहरूलाई निर्देशन दिएको छ ।
प्राधिकरणले हिजो विज्ञप्ती निकालेर अत्यावश्यक सेवाअन्तर्गत पर्ने इन्टरनेट सेवा अवरुद्ध गरे कानुन बमोजिम हदैसम्मको कारबाही गर्ने चेतावनी पनि दिएको छ ।
अस्ति केही इन्टरनेट सेवा प्रदायकहरूको इन्टरनेट सेवा अवरुद्ध भएको सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणको अनुगमन तथा निरीक्षणबाट केही सेवा प्रदायकको सेवा अवरुद्ध भएको पुष्टि भएको र तत्काल प्राधिकरणबाट लिइएको पहलकदमी र सरोकारवालाहरूबाट भएको सहयोग एवम् समन्वयले केही समयभित्र नै इन्टरनेट सेवा सञ्चालनमा आएको पनि विज्ञप्तीमा उल्लेख छ ।
