
असार १५ काठमाडौं : आईसीसी टी–२० विश्वकप क्रिकेटको उपाधिका लागि आज भारत र दक्षिण अफ्रिका सामना गदैछन । फाइनल खेल नेपाली समय अनुसार आज बेलुका सवा ८ बजे बिज्रटाउनमा शुरु हुनेछ । भारत अस्ति भएको दोस्रो सेमिफाइनलमा साविक विजेता इंग्ल्यान्डलाई ६८ रनले हराउँदै उपाधि नजिकै पुगेको हो ।
भारतले यसअघि एक पटक मात्रै उपाधि जितेको छ । उसले पहिलो संस्करण सन् २००७ मा उपाधि जितेको थियो । त्यसपछि सन् २०१४ मा फाइनलमा पुगेको भारत श्रीलंकासँग पराजित भएको थियो ।
दक्षिण अफ्रिकाले पहिलो पटक फाइनल खेल्दैछ । उसले पहिलो सेमिफाइनलमा अफगानिस्तानलाई नौ विकेटले हराएर फाइनलमा पुगेको हो । दक्षिण अफ्रिका २००९ र २०१४ मा सेमिफाइनलसम्म पुगेको थियो । नवौँ संस्करणको यो विश्वकपमा दुबै टोली अपराजित रहँदै फाइनलमा पुगेका हुन् ।
दक्षिण अफ्रिका आठ र भारत सात खेलमा अपराजित छन् । भारतले क्यानडासँगको खेलमा वर्षा बाधक हुँदा अङ्क बाँडेको थियो ।
