पशुपतिनाथ काठमाडौँ, १२ फागुनः ऐतिहासिक धार्मिक एवं पर्यटकीय दृष्टिले महत्त्वपूर्ण विश्व सम्पदा क्षेत्रमा सूचीकृत पशुपतिनाथ मन्दिर । यस मन्दिर सांस्कृतिक सम्पदा अन्तर्गत युनेस्को विश्व सम्पदा क्षेत्र मा पर्दछ। तस्बिरः हरिराम भेटुवाल÷रासस
३ फागुन,काठमाडौं । महाशिवरात्रि पर्व आज देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवम् दर्शन गरी मनाइँदैछ । महाशिवरात्रिको अवसरमा पशुपतिनाथमा बिहानैदेखि चहलपहल शुरु भएको छ ।
बिहान ४ बजेदेखि नै पशुपतिनाथका चार वटै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । दर्शनार्थी र साधुसन्तको घुइँचो लागेको छ । यस वर्ष ८ लाखभन्दा धेरै दर्शनार्थीले पशुपतिमा दर्शन गर्न सक्ने गरी व्यवस्थापन गरिएको छ ।
पशुपति क्षेत्र आसपासमा गाडीको आवागमनमा विशेष व्यवस्थापन गरिएकोछ । कोषका अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र ट्राफिक प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ । भीड नियन्त्रण, हराएका व्यक्तिको खोजतलास, आपत्कालीन उद्धार तथा शङ्कास्पद गतिविधि निगरानीका लागि सिसीटिभी क्यामेरा तथा मोबाइल गस्ती बढाइएको छ ।
पशुपति क्षेत्रमा प्रवेश गर्ने मुख्य नाका तथा मन्दिर परिसर वरिपरि पैदलमार्गको व्यवस्था गरिनुका साथै आपत्कालीन अवस्थामा गाडीका लागि छुट्टै मार्ग निर्धारण गरिएको कोषले जनाएको छ । कोषका कार्यकारी निर्देशक एवं प्रवक्ता सुभाष जोशीका अनुसार दर्शनार्थीको लागि चार वटा छुट्टाछुट्टै लाइनमार्फत दर्शनको व्यवस्था मिलाइएको छ ।
सुरक्षा, स्वास्थ्य, सरसफाइ र ट्राफिक व्यवस्थापनमा विशेष ध्यान दिइएको छ । काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयले दर्शनार्थीलाई सहज रूपमा आवत–जावत तथा दर्शन गर्ने वातावरण मिलाउन ट्राफिक व्यवस्थापन मिलाएको छ ।
