काठमाडौं ९,असोज :उपप्रधानमन्त्री अवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वृद्धि तथा नागरिकको जीवनस्तरमा सुधार ल्याउनका लागि यातायात पूर्वाधार अत्यावश्यक रहेको बताउनु भएको छ ।
चीनको राजधानी बेइजिङमा आयोजित ुग्लोबल सस्टेनेबल ट्रान्सपोर्ट फोरमुलाई बुधबार सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले दिगो एवं भरपर्दो यातायात प्रणालीको विकास र उपयोगप्रति नेपालको दरिलो प्रतिबद्धता रहेको र यस क्षेत्रमा नेपालले काम गरिरहेको जानकारी दिनु भएको हो ।
नेपालको भौगोलिक अवस्थाअनुसार सडक सञ्जालको अतिरिक्त रेलमार्ग, हवाइयातायात तथा आधुनिक पोडवेको महत्त्व रहेको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले दिगो यातायात पूर्वाधार विकासका लागि स्वदेशी तथा वैदेशिक लगानी विस्तार गर्ने आवश्यक रहेको धारणा व्यक्त गर्नु भएको थियो ।
अर्थमन्त्री पौडेलले वातावरणमैत्री एवं दिगो यातायातका लागि विद्युतीय सवारीसाधनको प्रयोग विस्तार गर्ने नेपालको नीति रहेको जानकारी गराउनु भएको थियो । यसका लागि विद्युतीय सवारीको आयातमा राजस्व सहुलियतसहित यससम्बन्धी पूर्वाधार निर्माणका कार्य अगाडि बढाइएको, मुलुकभित्रै विद्युतीय सवारीसाधनको उत्पादनका लागि अन्तर्राष्ट्रिय प्रविधि तथा लगानी आकर्षित गर्ने उहाँको भनाइ छ ।
बुधबारदेखि सुरु भएको ग्लोबल सस्टेनेबल ट्रान्सपोर्ट फोरमको कार्यक्रममा नेपाल लगायत विभिन्न देशका उच्च राजनीतिक तहका प्रतिनिधिमण्डलको सहभागिता छ ।
