माघ २२,काठमाडौं :राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सङ्गीतमा नेपाली लोकजीवन, मौलिकपनको विकास र विस्तार एवं संरक्षण गर्नुपर्ने बताउनु भएकोछ ।
नातिकाजी स्मृति समाजले शीतलनिवासमा आज आयोजना गरेको नातिकाजी राष्ट्रिय सङ्गीत सम्मान तथा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले यस्तो बताउनु भएको हो ।
नेपाली सङ्गीतमा विभिन्न जातजातिका बाजा, भाका, गीत, सङ्गीतका आफ्नै परिवेश, मौलिक धुन, विशिष्ट शैली र महत्व रहेको र त्यसको जगमा नै नेपाली राष्ट्रिय सङ्गीतको विकास हुँदै आएको धारणा व्यक्त गर्नुभएको छ ।
उहाँले नेपालको भौगोलिक विविधता र सांस्कृतिक विशिष्टता नै विश्वमा पृथक पहिचानका रुपमा रहेको र यहाँको बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विशेषता विश्वमै नमूना रहेको उल्लेख गर्दै नेपाली समाजको विविधतालाई यिनै लोकसंस्कृति, गीत र सङ्गीतले एकढिक्का बनाउन सघाएको बताउनु भयो ।
राष्ट्रपति पौडेलले नेपाली लोक भाका पछ्याउँदै नेपाली आधुनिक गीत सङ्गीतको सृजनामा नातिकाजीले पुर्याएको योगदान अतुलनीय रहेको स्मरण गर्नुै भयो । नेपाली गीत–सङ्गीतको क्षेत्रमा जीवनभर लाग्नुहुने स्रष्टालाई राज्यको तहबाटसमेत उचित महत्व दिँदै जानु नेपाली राष्ट्रिय हितकै विषयसमेत भएको उहाँले बताउनु भयो ।
सो समारोहमा नातिकाजी स्मृति समाजका अध्यक्ष शम्भुजित बास्कोटाले यो सम्मानबाट कला क्षेत्रलाई थप उत्पे्ररणा मिलेको बताउनु भयो ।। उहाँले स्रष्टाहरुका नाममा राज्यले पनि पुरस्कार स्थापना गरेर नवप्रतिभा तथा राष्ट्रका समग्र प्रतिभालाई प्रेरणा प्रदान गर्नुपर्ने सुझाव दिनु भयो ।
