३० साउन,काठमाडौं । गुन्डा नाइकेको रूपमा चिनिँदै आएका चक्रे (मिलन गुरुङ) लाई जिल्ला अदालत भक्तपुरले पनि धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
जिल्ला अदालत भक्तपुरका न्यायाधीश रामप्रसाद न्यौपानेको इजलासले उनलाई १ लाख १० हजार धरौटीमा छाड्न आदेश दिएको हो । बिहीबार मुद्दाको सुनुवाइ नभ्याउने भएपछि पेशी तोकिएको थिएन ।
आज शुक्रबार भने न्यायाधीश न्यौपानेको इजलासले चक्रेको मुद्दामा बयान र थुनछेक सकेर आदेश जारी गरेको हो ।तोकिएको धरौटी चक्रेले बुझाइसकेका छन् ।
चक्रेविरुद्ध बिहीबार ज्यान मार्ने उद्योगको कसुरमा मुद्दा दर्ता भएको थियो । एक वर्षअघिको एक ज्यान मार्ने उद्योगको कसुरको मुद्दामा चक्रेविरुद्ध जाहेरी परेको थियो ।
सर्लाहीको हरिवन नगरपालिका–४ घर भएका २५ वर्षीय अजित खवाससहितका व्यक्तिले आक्रमण गरको भन्दै जाहेरी परेको थियो । जहाँ चक्रेको समेत नाम उल्लेख थियो । जाहेरीपछि प्रहरीले खवासलाई पक्राउ गरेर अनुसन्धान गरी मुद्दा चलाएको थियो । तर चक्रेको हकमा भने वतन नखुलेको भन्दै प्रतिवादी बनाइएको थिएन ।
त्यतिबेला रायमाझीको दुवै कोखमा खुकुरी प्रहारी गरी घाइते बनाइएको बताइएको थियो । सोही विषयमा अहिले चक्रेमाथि मुद्दा दर्ता भएको हो । चक्रे बुधरबार मात्रै जिल्ला प्रहरी परिसरको हिरासतबाट छुटेका थिए ।
