
जेष्ठ २९ काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई लक्षित गर्दै सहकारी घोटाला प्रकरणमा फरार रहेका गितेन्द्रबाबु (जिबी) राई कहिले पक्राउ पर्छन् भन्ने प्रश्न गर्नु भएको छ ।
मंगलबार प्रतिनिधि सभा बैठकमा सभामुखबाट समय लिएर बोलेका राप्रपा प्रमुख सचेतकसमेत रहेका शाहीले भन्नुभयो ‘आकासमा भए पनि, पातालमा भए पनि खोजेर ल्याउँछु भनेर गृहमन्त्रीले भन्नुभएको थियो। कहिले पक्राउ गर्नुहुन्छ गृहमन्त्रीले हामी हेरेर बसेका छौं।’
उहाँले सरकार भन्दा जिबी राई ठूलो भएकाले पक्राउ गर्न नसकेको हो भनेर पनि प्रश्न गर्नु भयो । आज यो देश नेपाल ठूलो हो कि जिबी राई ठूलो हो ? मलाई त लाग्छ आज यो देश नेपाल भन्दा ठूलो जिबी राई हो। एउटा जिबी राईलाई यो सरकारले पक्राउ गर्न सकेको छैन। हामी माग गर्न चाहान्छौं जिबी राईलाई छिटो भन्दा छिटो पक्राउ गरियोस्,’उहाँले भन्नु भयो । यस्तै सरकारले अन्य विभिन्न प्रकरणका फाइलहरू कहिले खोलिन्छ भनेर पनि प्रश्न गर्नु भयो ।
