भदौ ९, एजेन्सी :टेलिग्रामका संस्थापक तथा प्रमुख कार्यकारी निर्देशक ९सीईओ० पवेल डुरोव पक्राउ परेका छन् । निजी जहाजबाट फ्रान्सको बुर्जेट विमानस्थलमा अवतरण गरेलगत्तै उनलाई प्रहरीले विमानस्थलबाटै पक्राउ गरेको जनाइएको छ ।
उनलाई टेलिग्रामसँग सम्बन्धित मुद्दामा पक्राउ गरेको फ्रान्सेली प्रहरीलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ । डुरोव रुसी–फ्रान्सेली अर्बपति हुन् । उनको पक्राउपछि फ्रान्समा रहेको रुसी राजदूतावासले तत्काल समन्वय गर्ने भनेको रुसी समाचार संस्था तासले उल्लेख गरेको छ ।
झन्डै एक अर्ब प्रयोगकर्ता रहेको टेलिग्राम युरोपेली देशहरूमा लोकप्रिय छ । रुसले युक्रेनमा आक्रमण गरेका बेला धेरै प्रयोग भएको सामाजिक सञ्जाल टेलिग्राम हो । यो फेसबुक, युट्युब, ह्वाट्सएप, इन्स्टाग्राम, टिकटक र विच्याट पछिको प्रमुख सामाजिक सञ्जाल प्लेटफर्महरूमध्ये एक हो ।
रुसी सरकारलाई सूचना नदिँदा सन् २०१८ मा टेलिग्राम बन्द गरिएको थियो । सन् २०२१ पछि भने सञ्चालनमा छ । अहिले टेलिग्रामको मुख्यालय यूएईमा छ ।
