
जेष्ठ ३० काठमाडौं : ड्राइभिङ लाइसेन्स लिएकाले साउन १ देखि राष्ट्रिय परिचयपत्र देखाए हुने भएको छ । ड्राइभिङ लाइसेन्सको विवरणलाई राष्ट्रिय परिचयपत्रमा समावेश गरी कार्यान्वयनमा ल्याउने र छुट्टै ड्राइभिङ लाइसेन्स नचाहिने गरी काम भइरहेको यातायात व्यवस्था विभागले जानकारी दिएको हो ।
यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले अहिले सवारीचालक अनुमतिपत्रको विवरण राष्ट्रिय परिचयपत्रमा जोड्ने प्राविधिक काम भइरहेको र १/२ दिनमा नै टुङ्गिने बताउनु भयो । राज्यको खर्च कटौती र सवारी चालकलाई सहज हिसाबले अनुमतिपत्र वितरण गर्न सो कार्यको थालनी गरिएको रिजालले बताउनु भयो ।
उहाँले लाइसेन्स छापिरहन खर्च गर्नुभन्दा राष्ट्रिय परिचयपत्रलाई नै उचित विकल्पको रूपमा प्रयोग गर्ने तयारी भएको बताउनु भयो । महानिर्देशक रिजालले राष्ट्रिय परिचयपत्रमा सवारीचालक अनुमतिपत्रलाई जोड्ने विषयमा मन्त्रिपरिषद्ले निर्णय गरिसकेको र साउन १ गतेबाट व्यवहारिक रूपमै कार्यान्वयनमा ल्याउनेगरी काम भइरहेको बताउनु भयो ।
राष्ट्रिय परिचयपत्रमा सवारीचालक अनुमतिपत्रको विवरण जोडेपछि स्मार्ट लाइसेन्स प्रिन्ट गर्नुनपर्ने मान्यताका साथ काम भइरहेको उहाँको भनाई छ ।
