भदौ १२,काठमाडौं : नेपाल वायुसेवा निगमका ३ वटा हवाईजहाज ग्राउण्डेड भएपछि अन्तरराष्ट्रिय उडान प्रभावित भएका छन्।
वायुसेवा निगमसँग भएका ४ वटा जहाजमध्ये ३ वटा जहाज ग्राउण्डेड भएपछि २ दिनदेखि अन्तरराष्ट्रिय उडान प्रभावित भएको हो। निगमको न्यारोबडी मंगलवार ‘ग्राउण्डेड’ हुँदा काठमाडौँ, हङकङ, दोहा र दुबईमा करिब ८ सय यात्रु प्रभावित भएका छन्। निगमको न्यारोबडी जहाजको हाइड्रोलिकमा आएको समस्याले सबै उडान रद्द भएकाले यात्रुहरु प्रभावित बन्न पुगेका हुन्।
न्यारोबडी सगरमाथामा हाइड्रोलिकमा समस्या देखिएसँगै नागरिक उड्डयन प्राधिकरणले जहाज ग्राउण्डेड गराएको थियो।१५६ यात्रु लिएर काठमाडौँबाट हङकङ उडान गर्ने हवाईजहाज न्यारोबडी सगरमाथा ग्राउण्डेड भएपछि यात्रुहरुलाई दिनभरि र्याडिसन होटलको लाउन्जमा राखेर अन्य विदेशी वायुसेवाको टिकट किनेरै गन्तव्यमा पठाउने प्रवन्ध मिलाएको निगमका प्रवक्ता रमेश पौडेलले बताउनु भयो ।
उहाँले निगमले हङकङ उड्ने र आउने दुवैतर्फका यात्रुलाई निगमले अलपत्र नपारेको भन्दै अन्तरराष्ट्रिय मापदण्डअनुसार होटलमा व्यवस्थापन गरिएको बताए। उनले अन्य विदेशी जहाजको टिकट काटेर यात्रुहरुलाई गन्तव्यमा पठाइरहेको बताउनु भयो ।
प्रवक्ता पौडेललकाअनुसार अन्तरराष्ट्रिय नियमअनुसार विदेशमा अलपत्र पर्ने यात्रुलाई पाँचतारे होटलमा राख्नैपर्ने व्यवस्थाअनुसार निगमले यात्रुहरुलाई होटलमा राखेको उल्लेख गर्नु भयो ।निगमले अन्तिम समयमा उडान रद्द हुँदा अन्तरराष्ट्रिय मापदण्डअनुसार यात्रुहरुको व्यवस्थापन र टिकटमा मंगलवारको उडानबाट नै १ करोड रुपैयाँ खर्च गर्नुपरेको छ।
निगमका प्रवक्ता पौडेलकाअनुसार निगमसँग न्यारोबडी २ वटा र वाइडबडी विमान २ वटा रहेका छन्। तर एउटा वाइडबडी विस्तृत मर्मत ९सी–चेक० का लागि २ महिनादेखि इटलीमा अलपत्र रहेको छ।
