काठमाडौ १९,असोज : दशैँका लागि उपत्यका छाड्नेको संख्या दिनहुँ बढिरहेको छ। काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्क र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा घर जानेको उल्लेख्य घुइँचो देखिन्छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार पछिल्लो पाँच दिनमा मात्रै करिब २ लाख यात्रुले काठमाडौं छाडेका छन्। कार्यालयका प्रवक्ता डीएसपी रविन कार्कीका अनुसार असोज १४ गतेदेखि शनिबार बिहानसम्म १८ हजार ५५१ सवारीसाधनबाट एक लाख ९५ हजार ४९६ यात्रु बाहिरिएका छन्।
यो अवधिमा १६ हजार ६९९ सवारी र एक लाख ४७ हजार ६५६ यात्रु काठमाडौं आएका छन्। पछिल्लो २४ घण्टामा मात्रै चार हजार ४४ सवारीबाट ४८ हजार ६३७ यात्रुले उपत्यका छाडेका छन्। यो संख्या सडकमार्ग भएर जाने यात्रुको मात्रै हो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पनि यात्रुको घुइँचो बढेको छ। पछिल्लो दुई दिनयता काठमाडौं भित्रिनेभन्दा बाहिरिने यात्रुको संख्या बढ्न थालेको कार्कीले बताए। अहिले काठमाडौंबाट बाहिरिन नागढुंगा नाका पूर्ण सञ्चालनमा छ। अरनिको राजमार्ग बाह्रबिसे र बीपी राजमार्ग भकुण्डेबेसीसम्म मात्रै सञ्चालनमा छ ।
