असोज, काठमाडौं २ : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धुलो टकटक्याएर देश निर्माणमा लाग्न आह्वान गर्नुभएको छ ।
संविधान दिवसको अवसरमा भिडियो सन्देश जारी गर्दै उहाँले ७० भन्दा बढी युवाको जघन्य हत्याको शोकमा नेपाल रहेको भन्दै २३ गतेको नरसंहार र २४ गतेको विध्वंसले सार्वजनिक सेवा अस्तव्यस्त भएको बताउनु भएको हो । सबैभन्दा उच्च प्राथमिकताका साथ देशव्यापी पुनर्निर्माणमा लाग्नु रहेको उहाँको भनाई छ ।
घटनाको स्वतन्त्र, निष्पक्ष र उच्चस्तरीय छानबिन आयोग गठन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन सरकारसँग माग गर्नुभयो । जेनजी आन्दोलनलाई समयमै विवेकपूर्वक सम्बोधन गर्न नसक्दा मुलुक आज निकै तरल अवस्थामा प्रवेश गरेको जिकिर गर्नुभयो ।
जेन–जी आन्दोलनको बलमा संसद्बाट प्रत्यक्ष निर्वाचित कार्यकारी हुने शासकीय स्वरूपमा जाने गरी तत्काल संविधान संशोधन गर्न सकिने भए पनि त्यो अवसरबाट जेन जी चुकेको बताउनु भयो । उहाँले जेनजी आन्दोलनको उपलब्धि केवल अन्तरिम सरकार र निर्वाचनको घोषणामा सीमित भएको बताउनु भयो । शासकीय स्वरूप बदल्ने र इतिहास रच्ने मौका गुमेको उहाँको भनाई छ । उहाँले अन्तरिम सरकारलाई पनि असफल बनाउने प्रयास शुरु भइसकेको बताउनु भयो ।
