भदौ १०,काठमाडौं :कृष्ण जन्माष्टमीको अवसरमा ललितपुरस्थित कृष्णमन्दिरमा श्रद्धालुको घुइँचो लागेको छ। भक्तजन एकाबिहानैदेखि दर्शनका लागि लामबद्ध छन्। भाद्र कृष्ण अष्टमीको मध्यरातमा भागवान् कृष्णको जन्म भएको पौराणिक मान्यता छ। यो दिन भगवान् कृष्णको पूजाअर्चना तथा माहत्म्य पाठ गर्नाले पुण्य मिल्ने विश्वास छ।


अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न जन्मनुभएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गर्नुभएको थियो । लोकमा अधर्म बढ्दै जाँदा भगवानले विभिन्न रूप लिने परम्पराअनुरूप कंसलगायत दानवको अन्त्यका लागि नारायणले कृष्णको रूप लिएको विश्वास छ ।

कंसको कालकोठरीमा वासुदेव र देवकीको पुत्रका रूपमा जन्मिएका कृष्णले मथुरामा देखाएको बाललीला र महाभारत युद्धअघि अर्जुनलाई दिएको गीताज्ञान प्रख्यात छ । कंस र उनका सहयोगी शकट, भञ्जन, तृणवर्त, वत्सासुर, बकासुर पुतना लगायतको दमन गरी कृष्णले लोकमा शान्ति कायम राखेको पुराणमा उल्लेख छ ।
