साउन ६,काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बैठकबाट दुईतिहाइ सांसदको विश्वासको मत पाउनु भएको छ ।
प्रधानमन्त्री ओलीले आइतबार प्रतिनिधिसभामा आफूलाई विश्वासको मत छ भनेर राखेको प्रस्तावको पक्षमा १८८ र विपक्षमा ७४ मत खसेको हो। मत दिन्न भन्ने पक्षमा १ मत परेको छ।
प्रधानमन्त्रीले विश्वासको मतसम्बन्धी पेश गरेको प्रस्तावमा पाएको मत प्रतिनिधिसभाको बहुमत भएको भन्दै सभामुख देवराज घिमिरेले प्रधानमन्त्री ओलीले विश्वासको मत प्राप्त गरेको घोषणा गर्नु भएको छ ।
बहुमतका लागि ओलीलाई १३८ मतको आवश्यक थियो। आइतबार प्रतिनिधिसभा बैठकमा २७५ सदस्यमध्ये २६३ जना सांसद उपस्थित थिए।
नेकपा एमालेका अध्यक्ष ओलीलाई नेपाली कांग्रेस, एमाले,अशोक राई नेतृत्वको जसपा, जसपा नेपाल, जनमत र लोसपालगायतले विश्वासको मत दिए।
नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेकपा एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० र जनमोर्चाले विश्वासको मतको विपक्षमा मतदान गरेका थिए ।
