फागुन ५,काठमाडौं :सगरमाथा क्षेत्रको भ्रमणमा आएका एक विदेशी नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा बेलायतका ४२ वर्षीया एलिजाबेथ डायरो रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक अनिलकुमार मिश्रका अनुसार जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका–४ गोरक्क्षेपस्थित एक होटलमा बास बसेका उनको सोही स्थानमा मृत्यु भएको हो ।
गत माघ २४ गते नमस्ते ट्रेकिङ कम्पनीमार्फत सगरमाथा क्षेत्र भ्रमणमा आएका एलिजाबेथको लुक्लाबाट सगरमाथा आधार शिविर जाने क्रममा गोरक्क्षेपस्थित हिमालयन लजमा बास बसेका थिए ।
सोही दिन साँझ ५ बजेतिर होटलमै बेहोस भई ढलेका एलिजाबेथको केही समयपछि सोही स्थानमा ज्यान गएको प्रहरी निरीक्षक मिश्रले जानकारी दिनु भएको छ ।शव अल्टिच्युड हेलिकप्टरमार्फत लुक्ला ल्याई कानुनी प्रक्रिया पूरा गरी काठमाडौंको शिक्षण अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।
