६ चैत,काठमाडौं । शुक्रबार दिउँसोदेखि शनिबार बिहानसम्म मेघगर्जन र चट्याङसहित वर्षा हुने पूर्वानुमान गरिएको छ । लुम्बिनी र कोशी प्रदेशका जिल्लाहरुमा तीव्र हावाहुरी चल्ने प्रक्षेपण छ । यसले क्षति पुर्याउन सक्ने भएकाले सतर्कता अपनाउन र अति आवश्यक नपरी घर बाहिर ननिस्किन मौसमविदहरुले सुझाव दिएका छन् ।
जल तथा मौसम विज्ञान विभागले आज बिहान ६ बजे जारी गरेको एक सूचना अनुसार हाल सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र कोशी प्रदेशमा साधारणतया बादल लागेको छ । सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशका एक–दुई स्थानमा भने मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षारहिमपात भइरहेको छ ।
तर शुक्रबार दिउँसोदेखि कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा एवं हिमपातको सम्भावना छ । शुक्रबारदेखि नै दाङ र नेपालगञ्जसहित लुम्बिनी प्रदेशका तराई क्षेत्रका आसपासका जिल्लामा र पर्सि शनिबार कोशी प्रदेशका विराटनगर, धनकुटा र धरान आसपासका जिल्लामा तीव्र हावाहुरी चल्ने सम्भावना छ । हावाहुरीको वेग झन्डै ११९ किलोमिटर प्रतिघण्टाको हुने प्रक्षेपण छ ।
त्यसैले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विज्ञप्ति जारी गरेर मौसम बदलीसँगै देशका विभिन्न भागमा तीव्र हावाहुरी, वर्षा र हिमपातको सम्भावना रहेकाले सचेत रहन आग्रह गरेको छ ।
तीव्र हावाहुरीका कारण रुख ढल्ने, कमजोर संरचना र छाना उड्ने, विद्युत् तथा सञ्चार सेवा प्रभावित हुने लगायतका जोखिम रहने प्राधिकरणको भनाइ छ । पछिल्ला केही दिन हावाहुरीका घटनाका कारण मानिसको मृत्यु तथा घाइते भएको भन्दै प्राधिकरणले जोखिम पूर्वानुमान गरिएका क्षेत्रमा बसोबास तथा यात्रा गर्ने नागरिकले विशेष सतर्कता अपनाउन भनेको हो ।
