फागुन २० ,काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सूचना प्रविधिको क्षेत्रमा क्रियाशील युवा वैज्ञानिकरूले यस वर्ष आफ्नै वैयक्तिक पहलमा ठूलो रकम नेपाल भित्राएको बताउनु भएको छ ।
‘समृद्ध नेपालका लागि कृत्रिम बौद्धिकता, भविष्यमा रोजगारी’ विषयक वैज्ञानिक सम्मेलनलाई आज सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । युवा वैज्ञानिकहरूको योगदानले देशमा सकारात्मक सन्देश प्रवाह गरेको उहाँको भनाई छ ।
राज्यको प्राथमिकता र प्रोत्साहनबिना नै युवा वैज्ञानिकहरूले गरेको प्रयास, प्राप्त गरेको सफलता र राज्यलाई गरेको योगदान सबैका निम्ति सकारात्मक प्रेरणा हो,” प्रधानमन्त्री प्रचण्डले भन्नु भयो यसले राष्ट्रिय आयका क्षेत्रहरूमध्ये सूचना–प्रविधिको क्षेत्र विशेष सम्भावनायुक्त क्षेत्र भएको यथार्थ प्रमाणित गर्दछ ।
उहाँले आफ्नै पहलमा अत्यन्तै राम्रो मेहेनत गरिरहेका युवा वैज्ञानिकलाई प्रोत्साहित गर्नु र त्यसका निम्ति योगदान गर्नु राज्यको आधारभूत दायित्व भएको तथ्य उजागर गरेको स्पष्ट पार्नु भयो ।
नेपालको निर्यातजन्य सेवाको रूपमा सूचना प्रविधि एक उदाउँदो क्षेत्रको रूपमा आइरहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भविष्यमा नेपालको बढ्दो व्यापारघाटा तथा बेरोजगारीको समस्या सम्बोधन गर्न यस क्षेत्रको प्रमुख योगदान हुने कुरा आत्मसात गरी नीतिगत तथा प्रणालीगत सुधारको अधिकतम प्रयास गरिने विश्वास दिलाउनु भयो ।
