९ असोज,काठमाडौं । प्रधानमन्त्री भएको १३ औँ दिनमा प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रका नाममा सम्बोधन गर्नुभएको छ । उहाँले देशको वर्तमान राजनीतिक अवस्था, आसन्न निर्वाचन, सुशासनका प्रतिबद्धता र जेनजी पुस्ताको आन्दोलनबाट उठेका मुद्दाहरूमा आफ्नो धारणा सार्वजनिक गर्नुभएको छ ।
उहाँको यो सम्बोधनलाई धेरैले चासोका साथ हेरेका थिए, जसले जेनजी पुस्ताले उठाउँदै आएका मागहरूलाई केही हदसम्म समेटे पनि संविधान नै फाल्नुपर्ने जस्ता उनीहरूका मुख्य मागहरू भने पूरा गर्न नसक्ने स्पष्ट पार्नुभयो ।
प्रधानमन्त्री कार्कीले आफ्नो ६ महिनाको अन्तरिम कार्यकालमा इमानदार प्रयासका साथ धेरै काम गर्ने प्रतिबद्धता जनाउँदै सरकारी सेवालाई झन्झटमुक्त बनाउने प्रमुख प्राथमिकतामा रहने बताउनु भयो ।
प्रधानमन्त्री कार्कीले स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित रूपमा प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गराउन सरकार कटिबद्ध रहेको दाबी गर्नुभयो ।
उहाँले यसका लागि निर्वाचन आयोगका पदाधिकारीहरूसँग छलफल गरिसकेको जानकारी दिँदै विशेषगरी जेनजी पुस्तालाई भोट हाल्ने वातावरण बनाइने बताउनु भयो । उहाँले सबै राजनीतिक दल, नागरिक समाज र सरोकारवालाहरूलाई एकताबद्ध भई निर्वाचनलाई सफल बनाउन आह्वान गर्नुभयो ।
संविधान संशोधन र शासकीय स्वरूप फेर्ने अधिकार वर्तमान अन्तरिम सरकारलाई नरहेको प्रधानमन्त्री कार्कीको स्पष्ट भनाइ छ ।कार्कीले संविधान र लोकतान्त्रिक व्यवस्थाप्रति आफ्नो सरकारको पूर्ण प्रतिबद्धता दोहोर्याउँदै जेनजी आन्दोलनको मागअनुसार संविधान संशोधन आवश्यक परे चुनावपछिको नयाँ बन्ने संसद्ले वैधानिक प्रक्रियाबाट गर्न सक्ने बताउनु भयो । ।
