३ चैत,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना सांसदहरूलाई प्रशिक्षण दिन दुई दिने आवासीय अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ। ललितपुरस्थित होटल रोयल टुलिपमा मंगलबारदेखि सुरु भएको उक्त कार्यक्रम बुधबारसम्म सञ्चालन हुने बताइएको छ।
पार्टीले सांसदको पदमा रहँदा गर्न हुने र गर्न नहुने काम, सांसदका जिम्मेवारी, अधिकार तथा पार्टीका नीति र उद्देश्यबारे स्पष्ट जानकारी गराउने उद्देश्यले अभिमुखीकरण कार्यक्रम आयोजना गरेको जनाएको छ। कार्यक्रममा पार्टी सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह, उपसभापतिसहित पार्टीका अन्य नेताहरू र सांसदहरूको सहभागिता रहनेछ।
रास्वपा प्रशिक्षण विभाग प्रमुख तथा सहमहामन्त्री विपिन आचार्यका अनुसार अभिमुखीकरण कार्यक्रममा पार्टीका नीति, दृष्टिकोण र सांसदका रूपमा निर्वाह गर्नुपर्ने भूमिकाबारे नवनिर्वाचित सांसदहरूलाई जानकारी गराइनेछ। विशेषगरी पहिलो पटक सांसद बनेकाहरूलाई संसदीय अभ्यास, काम, कर्तव्य र पार्टीको कार्यदिशाबारे सुसूचित गर्न तथा काममा एकरूपता कायम गर्न प्रशिक्षण आयोजना गरिएको छ ।
पार्टीका कानुन तथा न्याय विभाग प्रमुख तथा सांसद सोबिता गौतमले सांसदहरूलाई कानुन निर्माण प्रक्रिया र संसदीय गतिविधिबारे प्रशिक्षण दिन कार्यक्रम राखिएको जानकारी दिइन्। उनले कानुन निर्माणका क्रममा सांसदहरूबीच समान बुझाइ कायम गर्न यस्ता कार्यक्रम आवश्यक हुने बताउनुभयो ।
प्रवक्ता तथा सांसद मनिष झाले पहिलो दिन नवनिर्वाचित सांसदहरूलाई संसदीय भूमिका, कानुन निर्माण प्रक्रिया र संवैधानिक जिम्मेवारीबारे प्रशिक्षण दिइने जानकारी दिए। दोस्रो दिन भने योजना तथा बजेट निर्माण, सुशासन र जिम्मेवार राजनीतिक संस्कार विकासका विषयमा प्रशिक्षण हुने बताउनुभयो ।
अभिमुखीकरण कार्यक्रममा संसदीय अभ्यासका जानकार, संविधानविद्, इतिहासविद्, परराष्ट्रविद् तथा अर्थविद्हरूलाई प्रशिक्षणका लागि आमन्त्रण गरिएको छ। उद्घाटन सत्रमा पार्टीका वरिष्ठ नेता तथा उपसभापतिले सम्बोधन गर्नेछन् भने समापन समारोहलाई पार्टी सभापति रवि लामिछानेले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
रास्वपाले प्रत्यक्षबाट निर्वाचित १२५ र समानुपातिकबाट निर्वाचित ५७ गरी कुल १८२ सांसदलाई कार्यक्रममा सहभागी गराउने जनाएको छ। पहिलो दिनको कार्यक्रम बिहान १० बजेपछि सुरु हुने तालिका रहेको छ।
यसैबीच, अभिमुखीकरण कार्यक्रम अवधिभरि सांसदहरूका लागि केही आचारसंहिता पनि लागू गरिएको छ। पार्टी महामन्त्री कबिन्द्र बुर्लाकोटीले जारी गरेको निर्देशन अनुसार कार्यक्रम हलभित्र मोबाइल फोन प्रयोग गर्न, तस्बिर खिच्न तथा बाहिरी व्यक्तिको प्रवेशमा प्रतिबन्ध लगाइएको छ।
