भदौ १,काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई अधिकारसम्पन्न बनाउन सामूहिकरूपमा पहल भएमा संविधान संशोधन गर्न सकिने बताउनु भएको छ ।
मुलुकी संहिता दिवसको अवसरमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले शनिबार सिंहदरबारमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले कुनै व्यक्ति वा सांसदले चाहेमा मात्रै संविधान संशोधन हुन नसक्ने भन्दै यसका लागि सामूहिकरूपमा पहल आवश्यक रहेको बताउनु भएको हो ।
उहाँले सबैले नागरिक दायित्व ग्रहण गरेर राष्ट्रियभावका साथ प्रस्तुत भएमा संविधान र कानुनको पालना सहज हुने बताउनु भयो । प्रधानमन्त्री ओलीले संविधान र कानुनको परिपालनाका लागि सामाजिक चेतना र नैतिक बन्धनको प्रवर्द्धन गर्नुपर्नेमा जोड दिनु भयो ।
अपराधमाथिको अनुसन्धान, अभियोजन र न्याय निरूपपण गर्ने संस्थाहरूलाई स्वच्छ र जिम्मेवार तुल्याउनुपर्ने उहाँले बताउनु भयो । नेपालले न्याय क्षेत्रमा उल्लेख उपलब्धि हासिल गर्दै आएको भन्दै प्रधानमन्त्री ओलीले दक्षिण एसियामा कानुन र संविधान निर्माणजस्ता विषयमा नेपाल अगाडि नै रहेको बताउनु भयो ।
प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतले मर्यादाक्रमअनुसारका तलवमान दिनु भनी दिएको आदेशले राज्यको दायित्व बढ्ने भएकाले निर्णय गर्न असुविधा भएको बताउनु भयो । राजस्व अशुलीको प्रवृत्तिमा २४ प्रतिशतले कमी भएको र संसदबाट बजेट पारित भइसकेको स्थितिमा उक्त आदेशको कार्यान्वयनबारे सरकारले फेरि अदालतसमक्ष समाधानको उपाय निकाल्न भन्नुपर्ने अवस्था आएको उहाँको भनाई छ ।
