साउन २० ,काठमाडौं :सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेपाली कांग्रेस प्रदेशसभा संसदीय दलका नेता कमलबहादुर शाह नियुक्त हुनुभएकोछ ।
प्रदेश प्रमुख नजिर मियाँले नेपालको संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम कांग्रेस र नेकपा एमालेको समर्थनमा शाहलाई आज मुख्यमन्त्री नियुक्त गर्नु भएको हो । शाहलाई नागरिक उन्मुक्ति पार्टीको पनि समर्थन रहेको छ।
यसअघि आजै बसेको कांग्रेस संसदीय दलको बैठकले दलका नेता शाहलाई मुख्यमन्त्रीमा अघि सार्ने निर्णय गरेको थियो।मुख्यमन्त्रीका लागि कांग्रेसभित्र दलका नेता शाहलगायत बहादुरसिंह थापा, प्रकाशबहादुर देउवा र दिवानसिंह विष्ट आकांक्षी रहेका थिए। केन्द्रको निर्देशनअनुसार शाहलाई नै मुख्यमन्त्रीमा अघि सार्ने निर्णय गरिएको कांग्रेसले जनाएको छ।
शाह दोस्रोपटक प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो । उहाँ विसं २०७९ मा भएको आमनिर्वाचनमा कैलाली निर्वाचन क्षेत्र नं २ (क) बाट निर्वाचित हुनु भएको थियो ।
यसअघि विसं २०७९ माघ २७ गते नेकपा माओवादी केन्द्र‚ नागरिक उन्मुक्ति पार्टी, नेकपा एकीकृत समाजवादीको समर्थनमा उनी मुख्यमन्त्री हुनु भएको थियो ।
