काठमाडौं: नेपाली सेनाका सकल दर्जा, अवकाश प्राप्त सैनिक र आश्रित परिवारको बृहत् हितका लागि स्थापित सैनिक कल्याणकारी कोषमा गत असार मसान्तसम्म ७५ अर्ब ९० करोड ८८ लाख रुपैयाँ नगद मौज्दात रहेको सेनाले जनाएको छ ।
सैनिक मुख्यालय जङ्गी अड्डामा हिजो भएको पत्रकार सम्मेलनमा सैनिक कल्याणकारी निर्देशनालयका निर्देशक सहायक रथी किरण केसीले २०८० असार मसान्तमा कोषको नगद मौज्दात ७१ अर्ब पाँच करोड ६१ लाख रुपैयाँ रहेकामा यस वर्ष चार अर्ब ८५ करोड २७ रुपैयाँ वृद्धि भएको जानकारी दिनुभयो ।
कोषमा मुख्यगरी संयुक्त राष्ट्रसङ्घको आह्वानमा विश्वका विभिन्न देशमा शान्ति स्थापनार्थ खटिइएका सेनाका जटिल परिस्थितिमा कामगरेबापत राष्ट्र सङ्घबाट प्रदान गरिने भत्ता रकमबाट केही अंश कट्टगरी जम्मा गरिँदै आइएको छ ।
