
२३ जेठ, काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले चालु आर्थिक वर्षमा स्वदेशमा उत्पादन भएको आलु, प्याज र स्याउमा पनि मूल्य अभिवृद्धि कर (भ्याट) लागेकाले यस वर्ष हटाएको बताएका छन् ।
आलु, प्याज र स्याउमा लिँदै आएको भ्याट आगामी आर्थिक वर्ष २०८१ र ८२ मा हटाएपछि नेपाली कांग्रेसका केही सांसदले यसको विरोध गरेका थिए ।
उनीहरुले चालु आर्थिक वर्षमा विदेशी आलु प्याज र स्यायमा उत्पादनमा मात्र भ्याट लगाइएको र त्यसको स्वदेशी उत्पादनलाई प्रोत्साहन पुगेको दाबी गर्दै यसलाई हटाउँदा स्वदेशी उत्पादन निरुत्साहित हुने जिकिर गरेका थिए ।
तर अर्थमन्त्री पुनले भन्सार विन्दुमा विदेशी उत्पादनलाई मात्र भ्याट लगाउन प्रशासनिक रुपमा नमिल्ने हुनाले स्वदेशी आलु, प्याज र स्याउमा पनि भ्याट लागेकाले हटाएको बताउनु भयो । मन्त्री पुनका अनुसार अब विदेशबाट आयात हुने आलु, प्याज र स्याउमा भन्सार विन्दुमा १० प्रतिशत अग्रिम आयकर लाग्नेछ । स्वदेशी आलु, प्याज र स्याउमा भने कर लाग्ने छैन । यसले स्वदेशी उत्पादनलाई प्रोत्साहन नै पुग्ने उहाँको भनाइ छ ।
