संस्कृति, सम्पदा र पर्यटनको दृश्याङ्कनका लागि नेपाल आएका १०० चिनियाँ फोटोग्राफरहरु होली पर्वका अवसरमा बिहीबार काठमाडौँको बसन्तपुरमा होली खेलेर मनोरञ्जन लिँदै । राष्ट्रिय फोटो पत्रकार समूह र नेपाल चाइना फ्रेन्डसिप फोरमको निमन्त्रणामा उनीहरु नेपाल आएका हुन् । तस्बिरः प्रदीपराज वन्त/रासस
१८ फागुन,काठमाडौं । फागुपूर्णिमा अर्थात् होली पर्व आज हिमाली तथा पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदै छ । हरेक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन मनाइने यो पर्व वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावको सन्देश बोकेर आउने प्राचीन परम्परा हो ।
केही वर्षअघिसम्म काठमाडौं उपत्यका र शहरी क्षेत्रमा उच्छृङ्खल रूपमा मनाइने होली पछिल्लो समय प्रहरीको सक्रियताका कारण सभ्य बन्दै गएको छ । सडकमा हिँड्ने व्यक्तिलाई इच्छाविपरीत रङ र लोला हान्ने क्रम लगभग बन्द भएको छ ।
फागुपर्वको अघिल्लो दिन सडकमा फोहोर पानी छ्याप्ने गतिविधि पनि देखिएको छैन । आज काठमाडौंको वसन्तपुरमा गाडिएको ‘चिर’ विधिपूर्वक ढाली बाजागाजासहित टुँडिखेलमा लगी जलाउने परम्परा छ । चिरमा राखिएका ध्वजापताका औषधोपचारमा उपयोगी हुने विश्वासका साथ लिइन्छ र चिरको खरानी टीका लगाउँदा अनिष्ट टर्छ भन्ने जनविश्वास छ । तराई–मधेस क्षेत्रमा भने भोलि होली मनाउने परम्परा छ ।
यसैबीच निर्वाचन आयोगले प्रतिनिधिसभा चुनावलाई ध्यानमा राख्दै भीडभाड र तामझाम नगरी होली मनाउन आग्रह गरेको छ ।
