२ असोज, काठमाडौं । बलिउड अभिनेता टाइगर श्राफको कारमाथि गोली प्रहार गरेको आरोपमा भारतको राजस्थानस्थित कोटाबाट तीन जना पक्राउ परेका छन्। पक्राउ परेका उनीहरू दिल्ली हुँदै नेपाल भाग्ने तयारीमा रहेको भारतीय प्रहरीले जनाएको छ।
बीबीसीका अनुसार मुम्बईको विले पार्ले पश्चिमस्थित जुहू प्रहरी थाना क्षेत्रमा आइतबार साँझ श्राफको कारमाथि गोली प्रहार भएको थियो। घटनामा उनका चालक फिरदौस र अर्का एक जना घाइते भएका थिए। चालकको बायाँ हातमा गोली लागेको प्रहरीले जनाएको छ। अभिनेता श्राफ भने सकुशल छन्।
घटना स्थानीय समयअनुसार आइतबार साँझ करिब ७ बजे भएको थियो। व्यक्तिगत कामका लागि त्यहाँ पुगेका श्राफ काम सकेर फर्कने क्रममा उनको कारमाथि गोली प्रहार गरिएको थियो।
प्रत्यक्षदर्शी शाहरुख शेखका अनुसार दुई जना व्यक्ति एउटा गाडीबाट ओर्लिएर गोली प्रहार गरेपछि पुनः त्यही गाडीमा चढेर नेहरूनगरतर्फ भागेका थिए। चालक घाइते भएपछि श्राफ आफैँ चालकको सिटमा सरेर गाडी चलाएको पनि उनले बताएका छन्।
घटनापछि मुम्बई प्रहरीले अनुसन्धानका लागि विभिन्न टोली परिचालन गरेको थियो। अनुसन्धानका क्रममा प्राप्त सूचनाका आधारमा राजस्थानको कोटा सिटी प्रहरीले सोमबार बिहान करिब साढे ११ बजे तीन जनालाई पक्राउ गरेको कोटाकी प्रहरी उपरीक्षक तेजस्विनी गौतमले बीबीसी हिन्दीलाई जानकारी दिएकी छन्।
एसपी गौतमका अनुसार पक्राउ परेका तीनै जना दिल्ली हुँदै नेपाल भाग्ने तयारीमा थिए। उनीहरूसँग घटनाबारे सोधपुछ भइरहेको छ। पक्राउ परेकाहरूको साथबाट हालसम्म हतियार बरामद नभएको प्रहरीले जनाएको छ।
गोली प्रहारको उद्देश्य, पक्राउ परेका व्यक्तिहरूको घटनामा संलग्नता र प्रयोग गरिएको हतियारबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
