
साउन १,काठमाडौं : समाजवादी मोर्चाले देश पश्चगमनतर्फ गएको निष्कर्ष निकालेको छ । मंगलबार एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा झण्डै तीन घण्टा लामो बसेको बैठकले कांग्रेस–एमालेको समीकरणबाट प्रतिगमनको खतरा रहेको निष्कर्ष निकालेको हो ।
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल मोर्चाबाट अलग भएपछि नेपाल समाजवादी पार्टी(नेसपा)का विद्रोही यादव समूहलाई भित्र्याइएको छ ।बैठकले पछिल्लो राष्ट्रिय राजनीतिमा देखिएको घटनाक्रममालाई समीक्षा गरी १५ दिनभित्र दस्ताबेज पेस गर्न चार दलीय कार्यदल गठन गरेको छ ।
कार्यदलमा माओवादीका महासचिव देव गुरुङ, एकीकृत समाजवादीका नेता प्रमेश हमाल, नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्कबहादुर विश्वकर्मा र नेसपाका सहअध्यक्ष गंगानारायण श्रेष्ठ रहेका छन् ।
कार्यदलले समीक्षात्मक दस्ताबेज पेस गरेपछि १५ दिनमा बैठक बसेर मोर्चाको तत्कालीन र दीर्घकालीन कार्यक्रम ल्याउने मोर्चाका कार्यदल सदस्य विश्वकर्माले जानकारी दिनुभयो। ‘बैठकमा पछिल्लो विकसित राष्ट्रिय राजनीतिबारे गम्भीर छलफल भयो । १५ दिनभित्र समीक्षात्मक दस्ताबेज पेस गर्न चार सदस्यीय कार्यदल गठन भएको छ ।
मोर्चाको बैठकमा निवर्तमान प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो राजनीतिक घटनाक्रम, कांग्रेस–एमालेको समीकरण, सरकार ढल्नुको कारणबारे पुरानै कुरा दोहोर्याएको नेसपाका अध्यक्ष महिन्द्र राय यादवले जानकारी दिनु भयो । यद्यपि बैठकमा राष्ट्रिय राजनीतिको वर्तमान अवस्था र भावी रणनीतिबारे गम्भीर समीक्षा भएको उहाँको भनाई छ ।
