२७ फागुन,काठमाडौं । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को दाउन्नेमा पाँच वटा गाडी ठोक्किएर भएको दुर्घटनामा आठ जना घाइते भएका छन् ।
विनयी त्रिवेणी गाउँपालिका–२ घिउखोला नजिक गएराति कन्टेनरले एकतर्फी ओभरटेक गर्ने क्रममा पाँच वटा गाडी एकआपसमा ठोक्किएका जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो ।
दुर्घटनामा मोटरसाइकल चालक कालीकोट रास्कोटका अमर कार्की, त्यही मोटरसाइकल पछाडि रहेका रास्कोटकै महेन्द्र महतारा अनि अर्को एउटा बसमा रहेका ६ जना यात्रु घाइते भएका छन् । बसका चालक शङ्कर विष्ट, रामेछापको मन्थलीका विनोदकुमार अछामी, रोल्पाको लिवाङका उदीराम विष्ट, धरानका नाम्नुहाङ राई, रोल्पाकै दर्शन पोख्रेल, सुनसरीका चन्द्रसिंह थापा तथा प्यूठानको स्वर्गद्वारीका यज्ञप्रसाद भुसाल घाइते भएको प्रहरीले जनाएको छ ।
घाइते सबैलाई उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा लगिएको छ । कन्टेनरका चालक सम्पर्कमा नरहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
