३ फागुन,काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभा निर्वाचनमा देश जलाउने, भ्रष्टाचार र कुशासन चलाउने तथा दमनकारी प्रवृत्तिलाई जनताले पराजित गर्ने बताउनुभएको छ ।
रुकुम पूर्वको चुनबाङमा शनिबार आयोजित जनभेटघाट तथा अन्तरक्रिया कार्यक्रममा उहाँले हालै बंगलादेशमा सम्पन्न निर्वाचन परिणामबारे टिप्पणी गर्नुभयो ।
‘सिंहदरबार, संसद् भवन जले, सर्वोच्च अदालत जल्यो। निजी सम्पत्ति र व्यक्तिका घर जले। अब आगो लगाउने र ध्वंस मच्चाउनेहरू हार्नेछन्,’उहाँले भन्नुभयो ‘गणतन्त्र र परिवर्तन ल्याउनेहरू जित्नेछन्।’
उहाँले बंगलादेशको निर्वाचनबाट पाठ सिक्नुपर्ने आवश्यकता औँल्याउँदै त्यहाँ आगजनी र अस्थिरता निम्त्याउने शक्तिहरू पराजित भएको उल्लेख गर्नुभयो । ‘चुनावमा आगो लगाउनेहरू नै जित्छन् भनिन्थ्यो, तर उनीहरू हारे। स्थिरता चाहनेहरू विजयी भए,’ उहाँले भन्नुभयो ।
सामाजिक सञ्जालका आधारमा फैलाइने हल्लाले मत परिणाम निर्धारण नगर्ने भन्दै उहाँले जनताले तथ्यका आधारमा निर्णय गर्ने विश्वास व्यक्त गर्नुंभयो ।
