१३ मंसिर,काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो संस्करणमा सुदूरपश्चिम रोयल्स लगातारको पाँचौँ जितमा ‘प्लेअफ’मा प्रवेश गरेको छ। सुदूरपश्चिम दुई खेल अगावै ‘प्लेअफ’मा पुगेको हो।
त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला, कीर्तिपुरमा सुदूरपश्चिमले आज साबिक विजेता जनकपुर बोल्ट्सलाई छ विकेटले पराजित गर्दै ‘प्लेअफ’ मा स्थान सुरक्षित गरको हो।
यस जितमा विनोद भण्डारी र इशान पाण्डेले उत्कृष्ट ब्याटिङ तथा अविनाश बोहरा बलिङमा चम्किए। जितका लागि १४६ रनको चुनौती पछ्याएको सुदूरपश्चिमले १७ दशमलव चार ओभरमा चार विकेट गुमाउँदै पूरा गर्यो।
एक रन जोड्दा दुई विकेट गुमाएपछि धर्मराएको सुदूरपश्चिमलाई विनोद र इशानले सम्हाले। यी दुवै ब्याटरबीच ९२ रनको साझेदारी भयो। इशान ५६ तथा विनोद ४२ रनमा आउट भए।
बलिङमा जनकपुरका सदाकतले दुई तथा सञ्जय र आदित्यले समान एकरक विकेट लिए। यसअघि जनकपुरले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेकामा निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा १४५ रन बनायो।
जसमा सञ्जय कृष्णमूर्तिले सर्वाधिक ५०, जान निकलो लोफ्टी इटनले ३९ रनको योगदान गरे। बलिङमा सुदूरपश्चिमका अभिनाश बोहराले चार, स्कट कुगेलेइन तीन विकेट लिए।
सुदूरपश्चिमले लगातार पाँच जितसहित १० अङ्क बनाएको छ। जनकपुरको यो लगातार चौथो हार हो। अङ्कको खाता खोल्न नसकेको जनकपुर पुछारमा छ।
