
असार ३ काठमाडौं : आईसीसी टी–२० विश्वकप क्रिकेटमा नेपाल बङ्ग्लादेशसँग पराजित भएको छ । नेपाल १९ ओभर २ बल ८५ रनमा अलआउट भएर २१ रनले नेपाल बङ्ग्लादेशसँग पराजित भएको हो । नेपालले प्रतियोगितामा ऐतिहासिक जितका साथ सुखद अन्त्य गर्न असफल भयो ।
आज नेपालका लागि १० वर्षअघि सन् २०१४ मा बङ्ग्लादेशसँग हारेको बदला लिने मौका थियो तर त्यो पनि गुमायो । नेपालले टी–२० क्रिकेटमा अहिलेसम्म टेस्ट टोलीलाई हराउन सकेको छैन । आजको खेलमा नेपालका कुशल मल्लले सर्वाधिक २७ रन बनाए ।
त्यस्तै दिपेन्द्रसिँह ऐरीले २५ र आशिफ शेखले १७ रन बनाए । कप्तान रोहित पौडेल एक रनमा आउट भए । नेपाललाई जितका लागि बङ्ग्लादेशले एक सय ७ रनको लक्ष्य दिएको थियो ।
वेस्ट इन्डिजको किङ्ग्सटाउनमा टस हारेर पहिला ब्याटिङ गरेको बङ्ग्लादेश १९ ओभर ३ बलमा एक सय ६ रन बनाउँदा अलआउट भयो ।
उसका शाकिब अल हसनले सर्वाधिक १७ रन बनाए ।
त्यस्तै मोहम्मदुल्लाह र रिसाद होसेनले समान १३ रन जोडे । जाकेर अलीले १२ रन जोडे । तक्सिन अहमेद १२ रनमा अविजित रहे । लिटन दासले १० रन बनाए । बङ्ग्लादेशका अरु खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
आजको खेलमा सन्दीप लामिछानेले चार ओभरमा दुई विकेट लिदैं टी–२० मा एक सयौँ विकेट पूरा गरेका छन् । अफगानिस्तानका रासिद खानपछि उनले सबैभन्दा चाँडो यो उपलब्धि हासिल गरेका हुन् ।
सय विकेट पुरा गर्ने लामिछाने नेपालका पहिलो खेलाडी बनेका छन् । त्यस्तै कप्तान रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी र सोमपाल कामीले समान दुई विकेट लिए । सोमपाल कामीले खेलको पहिलो बलमा नै विकेट लिएका थिए । नेपाल यसअघि दक्षिण अफ्रिकासँग एक रनले हारेर समूह चरणबाट नै बाहिरीएको थियो ।
