साउन २८, काठमाडौं : उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले परिणाम दिनेगरी काम गर्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ ।
मुलुकमा विद्यमान निराशा र अन्योलतालाई चिर्नेगरी काम गर्न मातहतका निकायलाई निर्देशन दिँदै उहाँले त्यसो गर्न नसक्ने कर्मचारीलाई जिम्मेवारीबाट हटाइदिने चेतावनीसमेत दिनु भयो ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले लिमिटेडले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री भण्डारीले सरकार र सरकारी निकायमाथि उठेको प्रश्नको जवाफ दिनेगरी कार्य सम्पादन गर्नुपर्ने तर्फ पनि कर्मचारीलाई सचेत गराउनु भयो ।
प्रधानमन्त्री ओलीले ३ महिनाभित्र सम्पादन गरिसक्ने कामको विवरण सबै मन्त्रालयसँग खोजेको उल्लेख गर्दै भण्डारीले आफूहरूले १५ वटा काम सम्पन्न गरिसक्ने बताएको र त्यसलाई पूरा हुनेगरी काम गर्न विशेष ध्यान दिन निर्देशन दिनु भयो ।
कर्मचारीको सेवा, सुविधाको जिम्मा मन्त्रालयले लिने तर उनीहरूले दैनिक परिणाम आउने गरी काम गर्नुपर्ने उहाँको भनाइ छ।
