साउन १०,काठमाडौं :बागमती प्रदेशमा मन्त्रिपरिषद विस्तार गरेपनि शपथ ग्रहण भने रोकिएको छ । आज साँझ ६ बजेलाई तय भएको शपथ ग्रहण मन्त्रालयको संख्या एकलौटी बढाएको र आफ्ना मन्त्रीहरुलाई नसोधी जिम्मेवारी तोकेको विषयले उग्ररुप लिएपछि शपथ रोकिएको हो ।
बागमती प्रदेशमा मुख्यमन्त्रीसहित १३ मन्त्रालय रहेकोमा एमाले र कांग्रेसले ती मन्त्रालयको संख्या र मन्त्रालय यस अघिनै बाँडफाँट गरिसकेका थिए । जसमा कांग्रेसले मुख्यमन्त्रीसहित ७ र एमालेले छ मन्त्रालय लिने सहमति भएको थियो ।
सहमतिबमोजिम एमालेले पाएको मन्त्रालयमा रहनेगरि मन्त्रीहरुले हिजोनै शपथ ग्रहण गरेर आजबाट कामकाजमा लागिसकेका छन् । हिजै एमालेसँग शपथ खाएका तीनजना कांग्रेसका बिनाविभागीय मन्त्रीहरु आज मन्त्रालय पाउनेमा ढुक्क थिए ।
तर मुख्यमन्त्री लामाले हिजो शपथ खाएका मन्त्रीलाई नसोधी उनिहरुको विभाग मात्र तोकेनन सत्ता साझेदार दल नेकपा एमालेलाई नसोधी आज एकाएक पुनः काङ्रेसका चारजनालाई मन्त्री नियुक्त गर्न भयो ।
लामाले बिहीबार प्रभात तामाङ, सुरजचन्द्र लामिछाने, मीनकृष्ण महर्जन र बिमल ठकुरी मन्त्री नियुक्त गरेपछि एमालेले त्यसमा असन्तुष्टि जनाउँदै शपथ ग्रहण समारोहबाट बाहिरियो । हिजो नै ३ मन्त्रीहरु सपथ गराईसकेको काङ्ग्रेसले आज थप चार मन्त्री नियुक्त गरेर सहमति उल्लंघन गरेको आरोप एमालेको थियो ।
