
असार २८,काठमाडौं : चितवनको नारायणगढ–मुग्लिन सडकखण्डको सिमलताल भन्ने स्थानमा पुरिएको गणपति डिलक्सको बसमा चालक र सहचालकसहित ३१ यात्रु रहेको खुलेको छ । काठमाडौंस्थित टिकट बुकिङ इञ्चार्ज दीपु कुमारका अनुसार काठमाडौंको नयाँबसपार्कबाट गौर प्रस्थान गरेको ०००१ ख २४९५ नम्बरको बसमा चालक, सहचालक र २७ यात्रु गरी जम्मा २९ जना थिए । दुई जना बीच बाटोबाट चढेका थिए । बस किशोर कुमार चौधरीले चलाएका थिए ।
काठमाडौंबाट गौरका लागि छुटेको गणपति डिलक्स र वीरगञ्जबाट काठमाडौंतर्फ गइरहेको एन्जल डिलक्सका दुईवटा बसलाई आज बिहान करिब साढे तीन बजे चितवनको भरतपुर महानगरपालिका–२९ सिमताल भन्ने स्थानमा लेदो माटोसहितको पहिरोले पुरेको थियो । बेपत्ता बनेको एन्जल डिलक्स बसमा चालकसहित २४ जना यात्रु रहेको खुलेको छ । त्यसमा केही यात्रु भारतीय पनि थिए ।वीरगञ्जदेखि काठमाडौंका लागि छुटेको प्रदेश ०३००६ ख १५१६ नं.को बस आज बिहान चितवनको सिमतालमा पहिरोमा परेको थियो ।
बसमा बीच बाटोमा यात्रु चढेका थिए वा थिएनन् भन्ने एकीन भइसकेको छैन ।चालक जवाहिर महताले हाँकेको उक्त बस वीरगञ्जबाट बिहीबार साँझ ८ बजे काठमाडौंका लागि छुटेको थियो । काठमाडौंबाट गौर जाँदै गरेको बसका तीन जना यात्रुहरु भने हामफालेर ज्यान जोगाउन सफल भएका छन् । अन्य यात्रुहरुको अवस्था अज्ञात छ । घटनास्थलमा खोजी र उद्धार कार्य जारी छ ।
