
असार २६,काठमाडौं : मेलम्ची खानेपानी आयोजनाको हेडबक्स सारेपछि मात्रै काठमाडौं उपत्यकामा बाह्रै महिना पानी ल्याउन सकिने बताइएको छ । बुधवार राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले मेलम्ची खानेपानीको हेडबक्स सारेपछि मात्रै काठमाडौंमा बाह्रै महिना पानी आउन सक्ने बताउनुभएको हो । बैठकमासचिव आचार्यले काठमाडौंमा दीर्घकालसम्म पानी खुवाउनका लागि हेडबक्स सार्नुपर्ने अवस्था रहेको बताउनु भयो ।
उहाँले साबिककै हेडबक्सबाट वर्षात्को समयमा पानी खुवाउन नसकिने स्पष्ट पार्नुभयो । उहाँले एडिबीले मेलम्ची खानेपानी आयोजनाका लागि २ अर्ब रुपैयाँ अनुदान दिन लागेको जानकारी पनि दिनुभयो । त्यस्तै मेलम्ची खानेपानी आयोजनाका प्रमुख रत्न लामिछानेले पनि मेलम्ची खानेपानी आयोजनाको हेडबक्स कडा चट्टान भएको स्थानमा सार्नुपर्ने बताउनु भयो । उहाँले हेडबक्स सार्नका लागि मन्त्रिपरिषद्बाट सैद्धान्तिक सहमति पाइसकेको जानकारी गराउनु भयो । उहाँले मेलम्चीबाट कुनै प्रशोधनबिना पानी काठमाडौं पठाइरहेको अवस्थामा वर्षातको समयमा पानी पठाउँदा टनेलमा ग्रेगर र माटो जमेर क्षति हुनसक्ने भएकाले वर्षात्को समयमा पानी नपठाइएको बताउनु भयो ।
उहाँले बाढी घट्नासाथ भदौबाट मेलम्चीको पानी काठमाडौं पठाइने बताउनु भयो । अशोककुमार पौडेलले भूमिगत र सतह स्रोतबाट १० करोड लिटर पानी संकलन गरेर ६ देखि १२ दिनको अन्तरालमा काठमाडौं उपत्यकामा पानी वितरण गरिएको जानकारी दिनुभयो ।उहाँले वर्षात्को समयमा स्थानीय स्रोतहरुबाट समेत पानी धमिलो आउने हुनाले पानी वितरणलाई निरन्तरता दिन नसकेको बताउनु भयो । २०७८ साल असार १ गतेको प्राकृतिक विपद्का कारण मेलम्चीको खानेपानी आयोजनाको हेडबक्स क्षति गरेको थियो । त्यसयता हेडबक्सको मर्मतसम्भारको काम भइरहेको छ । वर्षातको समयमा पानी पठाउँदा थप क्षति हुनसक्ने भन्दै गत असार १० गतेदेखि मेलम्चीको पानी काठमाडौं ल्याउन बन्द गरिएको छ ।
