काठमाडौ. लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराले आइतबार विश्वासको मत लिने तयारी गर्नु भएको छ । चौथो अधिवेशनको २४ औँ बैठकमा मुख्यमन्त्री महराले विश्वासको मत लिने सम्भावित कार्यसूची सार्वजनिक भएको हो । बैठक भोलि १ बजेलाई बोलाइएको छ।
लुम्बिनी प्रदेश सभाले २४ औँ बैठकमा मुख्यमन्त्री जोखबहादुर महराले वक्तव्यसहित आफूमाथि प्रदेश सभाको विश्वास छ भन्ने प्रस्ताव पेस गर्ने र सो प्रस्ताव माथि छलफल भई उठेका प्रश्नहरूको जवाफ मुख्यमन्त्री दिने सम्भावित कार्यसूची रहेको रहेको छ ।
प्रदेश सचिव दुर्लभकुमार पुनले मुख्यमन्त्रीले विश्वास मत लिने सम्भावित कार्यसूची प्रदेश सभामा सदस्यहरूलाई पठाएको जानकारी दिनु भयो ।
केन्द्रमा कांग्रेस–एमाले सत्ता सहकार्य भएपछि लुम्बिनी प्रदेश सरकारमा सहभागी एमालेका पाँच जना मन्त्रीले असार २० गते राजीनामा दिनुका साथै समर्थन फिर्ता लिएका थिए । सरकारलाई दिएको समर्थन फिर्तापछि मुख्यमन्त्री महराको सरकार अल्पमतमा परेको थियो ।
