
जेष्ठ १० काठमाडौं : नता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले राज्यको शक्ति र स्रोत दुरुपयोग गरेर आफ्नो पार्टी फुटाएको आरोप लगाउनु भएको छ ।
राज्य शक्तिको दुरुपयोग गरेर आफ्नो पार्टी फुटाएको बताउदै उहाँले प्रधानमन्त्री प्रचण्ड लोकतन्त्र सिध्याउने खेलमा लागेको टिप्पणी गर्नु भएको हो ।
आफू देशमा नहुँदा कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएका व्यक्ति नै चोइटिएर गएको भन्दै यादवले यसमा राज्यशक्तिको दुरुपयोग भएको बताउनु भयो । उपेन्द्र यादव अमेरिका रहेका बेला अशोक राई, राजेन्द्र श्रेष्ठसहितका नेताहरुले अर्को पार्टी गठन गरेका थिए ।नेपालमा संसदीय व्यवस्था नै असफल भइसकेको बताउँदै यादवले अहिले संसदमा सरकारले मार्सल लगाइरहेको बताउनु भयो ।
जसपा मोरङ निर्वाचन क्षेत्र नम्बर ५ ले केन्द्रीय महाधिवेशनका लागि प्रतिनिधि छनोट गर्न आयोजना गरेको कार्यक्रममा उनले लोकतन्त्र माथि प्रहार गर्ने क्रममा सरकारले प्रेसमा हमला गरेको बताउनु भएको छ । सहकारीको वचत रकम हिनामिना गरेको समाचार सार्वजनिक गरेका कारण सरकारले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गरेको यादवले आरोप समेत लगाउनु भएको छ ।
