फागुन २९, काठमाडौं: निवर्तमान अर्थमन्त्री डा.प्रकाशशरण महतले गठबन्धन तोड्नुमा आफूलाई दोषारोपण गरेको भन्दै असन्तुष्टि जनाउनु भएको छ ।
नेपाली कांग्रेसका प्रवक्ता समेत रहेका डा. महतले मंगलबार पार्टी कार्यालय, सानेपामा पत्रकार सम्मेलन गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको दाबीको खण्डन गर्नु भएको छ । आफूले अर्थ मन्त्रालयको जिम्मेवारी लिँदा आर्थिक सूचकांकको अवस्था के थियो र अहिले के छ भन्ने तथ्यांक प्रस्तुत गर्दै उहाँले शिथिल अर्थतन्त्रलाई लयमा फर्काएको दाबी गर्नु भयो ।
आर्थिक सुशासन र मितव्ययितालाई प्राथमिकतामा राखेर आफूले सजगताका साथ काम गरेको भन्दै डा. महतले भन्नु भयो , ‘आर्थिक सहायता जथाभावी बाँड्नुभएन । गर्नैपर्ने बाहेकका आर्थिक सहायता दिनु हुँदैन भन्ने मान्यता मैले राखेँ ।’
सालाखाला भन्दा उपलब्धी नहुने देखेपछि गठबन्धन फेर्ने निर्णयमा पुगेको प्रधानमन्त्रीको अभिव्यक्तिप्रति इंग्गित गर्दै उहाँले प्रश्न गर्नुभयो , ‘यही कारण सालाखाला भन्दा उपलब्धी नभएको हो ? मितव्ययी हुँदा, सुशासन सुनिश्चित गर्दा, दुरुपयोग नगर्दा उपलब्धी नहुने हो ? यो कुरामा सहमत हुन सकिन्न ।’
सरकारले जति उपलब्धी हासिल गरेको हो, त्यो कांग्रेसकै कारण सम्भव भएको उनले दाबी गर्नु भयो । उहाँले अगाडि भन्नु भयो, ‘अर्थतन्त्र सुधारको प्रयासलाई आगाडि बजेटमा अझ गति दिने योजना थियो । यदि यो बाटो छोडेर हाम्रो साधन र स्रोतलाई जथाभावी खर्च गर्ने हो भने हामी अठ्यारोमा पर्ने निश्चित छ ।’
कांग्रेसका कारण उपलब्धी भएन भन्नु भ्रम छर्नु बाहेक केही नभएको डा. महतले बताउनु भयो । जथाभावी खर्च गर्ने प्रवृत्तिमा भने आफूले साथ नदिएको र मन्त्रीका रुपमा गरेको काममा गर्व गर्ने बताउनु भयो । उहाँले भन्नु भयो, ‘नेपाली कांग्रेस र कांग्रेसका मन्त्रीहरुलाई मैले भनेको जस्तो उपलब्धी भएन भनेर दोषारोपण गर्न कदापि मिल्दैन ।’
चिनियाँ ऋण मात्र होइन, अनुदान लिन नमानेको आरोप छ नि भनेर सोधेको प्रश्नमा उहाँले भन्नु भयो, ‘म चाहिँ अर्थमन्त्री नभएर प्रधानमन्त्री थिएँ कि भनेको जस्तो भयो । आफू परराष्ट्रमन्त्री भएको बेला बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआईआर)मा नेपालले हस्ताक्षर गरेको भएपनि प्राथमिकताका क्षेत्र पहिचान नसकेको उहाँले बताउनु भयो ।
